News मच्छिन्द्रलाई १५औं इटहरी गोल्डकपको उपाधि
गोलनेपाल

इटहरी । शनिबार सम्पन्न कन्ट्रोल १५औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब, काठमाडौंले जितेको छ ।

फाइनलमा सगरमाथा युथ क्लब, मोरङलाई २–० ले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो । इटहरी रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रका लागि मलिक युसुफ र ओमालजा नुरानीले गोल गरे ।

विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता सगरमाथाले ५ लाखमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच अशोक खवास बने । उनले पुरस्कार वापत नगद १० हजार हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका बिशाल श्रेष्ठ बन्दा उत्कृष्ट डिफेन्डर मच्छिन्द्र कै सनिस श्रेष्ठ चुनिए । उत्कृष्ट मिडफिल्डर पनि मच्छिन्द्र बिशाल घलान तामाङ चुनिदा उत्कृष्ट फरवार्ड मच्छिन्द्रका मलिक युसुफ बने । उत्कृष्ट प्रशिक्षक पनि मच्छिन्द्र कै सन्तोष न्यौपाने । उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार हात पारे ।

प्रतियोगिताको उदियमान खेलाडी राष्ट्रिय जागृति क्लब, इटहरीका सबिन घिमिरे चुनिए । उनले त्यसवापत ३२ इन्चको टिभी हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार मच्छिन्द्रका मलिक युसुफले हात पारे । त्यसवापत उनले नगद २५ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने सगरमाथाका कुलदिप कार्की चुनिए । त्यसवापत उनले नगद १ लाख हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments