
दोस्रो अल्टीट्युट रनिङ कप फुटबल प्रतियोगिता सेमीफाइनल समीकरण पूरा भएको छ। सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं ७ पञ्चायनको खेलमैदानमा जारी दोस्रो अल्टीट्युट रनिङ कप फुटबल प्रतियोगितामा आज सम्पन्न भएको अन्तिम क्वाटरफाईनल खेल कोशी पुलिस विराटनगर र तालतलैया फुटबल क्लब बीच सम्पन्न भएसँगै सेमीफाइनल समीकरण पूरा भएको छ।
उक्त खेलमा कोशी पुलिसका अभिषेक आलेले सुरुवाती समयमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए, तर तालतलैया फुटबल क्लबले उत्कृष्ट कमब्याक प्रदर्शन गर्दै खेललाई बराबरीमा ल्यायो। अभिषेक कालिकोटेले गोल गर्दै तालतलैया आफ्नो खेलमा फर्केको थियो, र पहिलो हाफ १-१ को बराबरीमा समाप्त भएको थियो।
दोश्रो हाफको प्रारम्भमा तालतलैया फुटबल क्लबका कप्तान सविन घिमिरेले शानदार गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। त्यसको केही समयपछि आरेश चौधरीले अर्को गोल गर्दै तालतलैया को अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम समयमा तालतलैया फुटबल क्लबका विजय उराउको उत्कृष्ट गोलसँगै, तालतलैया ४-१ को जितसँगै सेमीफाइनलमा स्थान बनाउन सफल भएको हो।
उक्त खेलको म्यान अफ दि म्याच तालतलैया फुटबल क्लबका कप्तान सविन घिमिरे घोषित भएका थिए, जसले नगद रु. २५०० र ट्रफी प्राप्त गरे।
अब भोलि हुने पहिलो सेमीफाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङले आयोजक अल्टीट्युट फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ। यो खेल पञ्चायन सुनसरीको खेलमैदानमा दिउँसो १ बजे सुरु हुने जानकारी क्लबका अध्यक्ष पिताम्बर तिम्सिना ज्यूले दिनुभएको छ।
प्रतियोगिताको विजेताले नगद रु. २,२२,२२२.- र १५ टोल चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु. १,११,१११ प्राप्त गर्नेछ।