News
ओएसिस महिला गोल्डकपको फाइनलमा एपिएफ, उपाधिका लागि आर्मीसँग भिड्ने

इलाम । नेपाल पुलिस क्लबसँग साँघुरो जित निकालेर एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
एपिएफको कठिन जितमा रश्मिकुमारी घिसिङले गोल गरेकी हुन् । पुलिसविरुद्ध एपिएफको जितमा १-० गोलको नतिजा निस्किएको थियो । प्रतिस्पर्धात्मक खेलमा पुलिसविरुद्ध गोल गर्नका लागि पहिलोको ३४औँ मिनेट पर्खिनु परेको थियो ।
दायाँ साइडबाट अनिता केसीको क्रस पासलाई बचाउने क्रमा पुलिसकी गोलरक्षक उषा नाथको हातबाट फुत्किएको बललाई रश्मिले गोल गरेकी हुन् । जितसँगै फाइनल खेलमा एपिएफले चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी एफसीसँग भेट पक्का गरेको छ ।
खेलको प्लेयर अफ दी म्याच एपिएफकी कप्तान अनिता बस्नेत भइन् । उनलाई इलाम नगरपालिकाका प्रमुख केदार थापा, आयोजक क्लबका अध्यक्ष ध्रुव राईलगायतले नगद ५ हजार र ट्रफी प्रदान गरे ।
क्लब ओएसिस इलामले आयोजना गरेको गोल्डकपको फाइनल खेल फागुन २४ गते हुनेछ । विजेताले नगद ४ लाखसहित आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद २ लाखमा चित्त बुझाउनु पर्नेछ ।
Post Comments