Province 1
न्यू स्टार फाइनलमा, उपाधिका लागि भाउन्नेसँग भिड्ने

जलथल (झापा) । उपाधिको दाबेदार मानिएको बगान युथ क्लब कचनकवललाई सहजै पराजित गर्दै न्यू स्टार क्लब बिर्तामोड यहाँ जारी दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को फाइनलमा प्रवेश गरेको छ ।
शान्ति सामुदायिक वनको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यू स्टारले ४-१ गोलअन्तरले बगान युथलाई पराजित गरेर उपाधि नजिक पुगेको हो ।
न्यू स्टारका लागि निमा तामाङले १९औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । यस्तै, ३५औँ मिनेटमा हेमन्त लिम्बू, ४४औँ मिनेटमा बादल तामाङ र ६९औँ मिनेटमा मौसम सुब्बाले गोल गर्दै फराकिलो अन्तर निकालेका थिए ।
अनपेक्षित हार व्यहोरेको बगान युथका लागि एकमात्र सान्त्वना गोल खेलको ३८औँ मिनेटमा कप्तान अभिषेक गुरुङले गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच न्यू स्टारका निमा तामाङ भए । उनले नगद २ हजार पाए ।
जलथल फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा न्यू स्टारले मोरङको भाउन्ने युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार १११ र उपविजेताले ५१ हजारसहित ट्रफी पाउने छ ।
Post Comments