नेपालको एएफसी यु–२३ एसियन कप छनौट प्रतिद्वन्द्वी ताजिकिस्तानसँग भारत पराजित
गोलनेपाल

काठमाडौं । आउँदै गरेको एएफसी यु–२३ एसियन कप छनौटको तयारी स्वरुप ताजिकिस्तान पुगेको भारतको यु–२३ फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा ताजिकिस्तानको यु–२३ टोलीसँग हार बेहोरेको छ ।

बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दश खेलाडीमा खुम्चिएको भारतले ताजिकिस्तानसँग ३–२ को प्रतिस्पर्धात्मक हार बेहोरेको हो । खेलको दोस्रो हाफतर्फ ५६औं मिनटमा भारतका आयुष देव क्षेत्रीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा भारतीय टोली दश खेलाडीमा सिमित बनेको थियो ।

त्यतिबेलासम्म भारत खेलमा १–० ले अगाडी समेत थियो । यद्यपि खेल सम्पन्न हुँदा भारतले घरेलु टोली ताजिकिस्तानलाई ३–२ ले नतिजा सुम्पिन बाध्य बन्यो । अब भारत र ताजिकिस्तानबीच दोस्रो मैत्रीपूर्ण खेल जुन २१ तारीखका दिन हुनेछ ।

स्मरण रहोस, एएफसी यु–२३ एसियन कप छनौटतर्फ नेपाल र ताजिकिस्तान एउटै समूह के मा परेका छन् । समूह के का सबै खेलहरु ताजिकिस्तान मै हुनेछन् । उक्त समूहमा ताजिकिस्तान र नेपाल बाहेक सिरिया र फिलिपिन्स समेत रहेका छन् । खेलहरु आगामी सेप्टेम्बर ३ तारीखदेखि शुरु हुने कार्यक्रम छ ।

 

Post Comments