International दुई खेलमा १८७ गोल भएपछि खेल मिलेमतोको आशंका
सुरज राना मगर

काठमाडौं (एजेन्सी) । विश्व खेलकुद कै लोकप्रिय मध्ये एक फुटबल खेलमा कुनै पनि खेलको नतिजाले धेरै अर्थ राख्ने गर्छ । चाहे त्यो कुनै टिमको जित होस वा अर्को टिमको हार ।

एउटै खेलमा फराकिलो अन्तरको हारलाई पनि आधुनिक फुटबलमा स्वभाविक नै मानिन्छ । एक खेलमा एउटा टोलीले विपक्षी विरुद्ध कति गोल गर्न सक्ला त ? कुनै एक टोलीले विपक्षी विरुद्ध ९५ गोल गरे, त्यसलाई कुन अर्थमा लिनुहुन्छ ? एउटा फुटबल खेलाडी, समर्थक, विश्लेषक वा फुटबलसँग सरोकार राख्ने जो कसैलाई पनि त्यो नतिजा अस्वभाविक लाग्न सक्छ ।

त्यहि अस्वभाविक नतिजा अफ्रिकी राष्ट्र सिएरा लियोनको दोस्रो डिभिजनको फुटबल म्याचमा सम्भव भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको रिपोर्टअनुसार त्यो दोस्रो डिभिजनको फुटबल म्याचतर्फ दुई खेलमा पत्याउनै गाह्रो हुने गरी कुल १८७ गोल भएका छन् ।

रिपोर्टअनुसार एउटा खेल ९५–० र अर्को खेल ९१–१ को नतिजामा सकिएको छ । जसअन्तरगत काहुन्ला रैन्जर्सले लुम्बेबु युनाइटेडलाई ९५–० ले हराएको छ भने अर्को खेलमा गल्फ एफसीले कोकिमा लेबनानलाई ९१–१ को अस्वभाविक नतिजाले हराएको हो ।

रोचक कुरा, यी दुवै म्याचको पहिलो हाफको नतिजा क्रमशः २–० र ७–१ थियो । तर दोस्रो हाफमा एक्कासी नतिजा अस्वभाविक निस्किएपछि त्यसले चौतर्फी चर्चा चुलिएको हो । नतिजा नै अस्भाविक निस्किएपछि धेरैले यो खेलहरुमा मिलेमतो भएको आशंका गर्न थालेका छन् ।

त्यसैकारण अहिले सिएरा लियोन फुटबल एसोसिएशनले सो खेलमा मिलेमतो भएको हो कि के हो? भनेर जानकारी लिन आवश्यक छानविन गर्ने तयारी शुरु गरिसकेको छ । साथै सो खेलहरुमा कुनै पनि किसिमको गलत कार्य भएको देखिए दोषीलाई कारवाही गरिने पनि एफएले उद्घोष गरेको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

Post Comments