News एन्फासँग सहकार्य गर्न पुलिस पनि तयार
गोलनेपाल

काठमाडौं । नेपालको शिर्ष क्लब फुटबलमा एएफसी क्लब लाइसेन्सिङ अनिवार्य भएपछि अहिले त्यसलाई पाउन विभागीय टोलीहरु तदारुकताका साथ लागिपरेका छन् । स्मरणीय छ, हालै त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली फुटबल क्लब समेत बनेको थियो ।

यसै सिलसिलामा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले पनि यहि सूचीमा आफूलाई उभ्याउने जमर्को गरेको छ । नेपाल पुलिस क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सहकार्य गरेर फुटबल एकेडेमी सञ्चालन गर्न आइतबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गर्यो ।

नक्सल स्थित पुलिस मुख्यालयमा भएको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा एन्फाका तर्फबाट कर्मा छिरिङ शेर्पा तथा पुलिसको तर्फबाट एआइजी निरज बहादुर कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो अवसरमा आइजी शैलेन्द्र थापा क्षेत्रीसहित अन्य वरिष्ठ पुलिस अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

एन्फा र पुलिसबीच के छन सम्झौता?

एन्फाका अनुसार पुलिस एकेडेमीमा कुल २१ बाल खेलाडीहरुलाई राखिने बताइएको छ । जसमा सात प्रशिक्षार्थी नेपाल पुलिस स्कुलबाट सामेल हुनेछन् भने सात जना देशव्यापी रुपमा छनौट भएर आएका हुनेछन् । देशभरिबाट छनौट भएर आएकाहरु भने एन्फाको पूर्ण छात्रवृत्तिमा हुनेछन् । त्यस्तै थप सात प्रशिक्षार्थीहरु भने भर्ना प्रक्रियाबाट एकेडेमीमा आवद्ध हुनेछन् ।

त्यसमा एन्फाले चार बर्षका लागि एकेडेमीलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ । साथै एन्फाले २ बर्षका लागि विद्यार्थीहरु पनि एकेडेमीलाई उपलब्ध गराउनेछ र खेलकुद सामाग्री पनि प्रदान गर्नेछ । त्यस्तै एन्फाले नेपाल पुलिस स्कुलसँग एकेडेमीका लागि थप केही बर्षसम्मका लागि सहकार्य र संयोजन गर्न सक्ने बताइएको छ ।

स्मरणीय छ, यसअघि सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले पनि एकेडेमी सञ्चालनका लागि एन्फासँग सम्झौता गरेको थियो । जसको उद्देश्य नै एएफसी क्लब लाइसेन्स पाउनु र घरेलु फुटबलमा क्लबलाई स्थायीत्व प्रदान गर्नु रहेको बुझिएको छ ।

सो अवसरमा एन्फाका तर्फबाट उपाध्यक्षद्वय शिक्षित पराजुली, उपेन्द्रमान सिंह, लिग कमिटी अध्यक्ष विज्ञान राज शर्मा लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

(तस्विरः एन्फा)

 

Post Comments