News एन्फाको वार्षिक बजेट ८५ करोड भन्दा माथि
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक वर्ष २०७७–७८ को अनुमानित बजेट सार्वजनिक गरेको छ । सातदोबाटो स्थित एन्फाको मुख्यालयमा सोमबार बसेको १२औं केन्द्रिय कार्यसमितिको बैठकले आगामी बजेटबारे सार्वजनिक गरेको हो ।

एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले आगामी बर्षका लागि ८५ करोड ६६ लाख ४२ हजार २४० रुपैयाँको अनुमानित बजेट एन्फाको वार्षिक साधारण सभामा पेश गरिने बताइएको छ ।

स्मरण रहोस, एन्फाको १९औं वार्षिक साधारण सभा मंगलबार हुँदैछ । जहाँ एन्फाको आगामी वार्षिक कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । सो अवसरमा अध्यक्ष शेर्पाले यसअघिका साधारण सभादेखि हालसम्मको साधारण सभाको कार्य प्रगति विवरण पनि प्रस्तुत गरेका थिए ।

त्यस्तै एन्फाले सोही अवसरमा ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन पनि फुकुवा गर्ने निर्णय गर्यो । त्यसैगरी बैठकमा खोटाङ, मनाङ र नवलपरासी (पूर्वी सुस्ता)लाई एन्फाको सदस्यता दिनेबारे प्रस्ताव साधारण सभामा पेश गरिने बताइएको छ ।

त्यस्तै एन्फाको वार्षिक साधारण सभामा विधान संशोधनबारे पनि चर्चा हुने एन्फाले जनाएको छ । सो अवसरमा राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले पेश गरेको खेलाडीहरुको आचार संहिता पारित गर्ने निर्णइ भएको थियो ।

Post Comments