
काठमाडौं । उज्वेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनौटतर्फ निर्णायक मानिएको खेलमा पराजित भएपछि एएफसी महिला एसियन कपमा छनौट हुने नेपालको चुनौति पनि समाप्त भएको छ ।
समूह एफतर्फ निर्णायक मानिएको खेलमा शनिबार नेपालले दश खेलाडीमा खुम्चिएको आफूभन्दा बलियो आयोजक उज्वेकिस्तानसँग पेनाल्टी शुटआउटमा नतिजा सुम्पिन बाध्य बनेको हो ।
प्रेरणादायी कप्तान साबित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा नेपालले उज्वेकिस्तानसँग निर्धारित समयको खेल ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थियो । बराबरी पश्चात् अंकतालिकामा समान अंक र समान गोलभिन्नता भएपछि नयाँ नियमअनुसार खेल सोझै पेनाल्टीतर्फ मोडिएको थियो ।
पेनाल्टी शुटआउटमा भने नेपालका लागि साबित्रा भण्डारी र अन्जना राना मगर चुक्दा नेपालले घरेलु टोली उज्वेकिस्तानसँग २–४ ले नतिजा सुम्पिन बाध्य बन्यो । योसँगै समूह एफबाट उज्वेकिस्तान अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनौट भएको छ । साथै समुह एफबाट नेपालसहित श्रीलंका र लाओस भने बाहिरिएका छन् ।