टीकापुर । कैलालीको टीकापुरस्थित वीरेन्द्र खेलमैदानमा जारी “युथ अफ टीकापुर प्रथम महिला खुला फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा सैपाल युथ क्लब, गोदावरी–कैलालीले १४ जीआर एफसी टीकापुरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
रोमाञ्चक सेमिफाइनल खेलको सुरुवातमै १४ जीआर एफसीले अग्रता बनाएको थियो। खेलको पाँचौं मिनेटमा उषा शाहीले शानदार फ्रीकिकमार्फत गोल गर्दै १४ जीआरलाई सुरुआती अग्रता दिलाइन्। तर त्यसको तीन मिनेटपछि नै सैपाल युथ क्लबकी तुलसी कुमारी ओलीले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन्।
खेल थप प्रतिस्पर्धात्मक बन्दै जाँदा पहिलो हाफको २७औं मिनेटमा अनु राईले उत्कृष्ट फ्रीकिक गोल गर्दै सैपाललाई २–१ को अग्रता दिलाइन्। त्यसपछि दोस्रो हाफमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। अन्ततः सैपाल युथ क्लबले महत्वपूर्ण जीत निकाल्दै फाइनल यात्रा तय गर्यो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण बराबरी गोल गरेकी सैपाल युथ क्लबकी तुलसी कुमारी ओली “प्लेयर अफ द म्याच” घोषित भइन्।
यस जीतसँगै सैपाल युथ क्लबले उपाधिका लागि आयोजक युथ अफ टीकापुरसँग फाइनल खेल्ने भएको छ। आयोजक टोली यसअघि पहिलो सेमिफाइनलमा भजनी क्लबलाई २–० ले पराजित गर्दै फाइनल पुगेको थियो।
अब प्रतियोगिताको बहुप्रतीक्षित फाइनल खेलमा आयोजक युथ अफ टीकापुर र सैपाल युथ क्लब, गोदावरी–कैलालीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ। फाइनल खेल जेठ ३ गते दिउँसो ३:०० बजे वीरेन्द्र खेलमैदानमा सञ्चालन हुनेछ।
महिला खेलाडीहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा महिला फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा पश्चिम नेपालका विभिन्न जिल्लाका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको आयोजना युथ अफ टीकापुरले गरेको हो।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको उद्घाटन वैशाख २७ गते सम्पन्न भएको हो।
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने