News १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

टीकापुर । कैलालीको टीकापुरस्थित वीरेन्द्र खेलमैदानमा जारी “युथ अफ टीकापुर प्रथम महिला खुला फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा १४ जीआर एफसीले कालिकोट एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ निकै रोमाञ्चक बनेको थियो। दुवै टोलीले आक्रमण र प्रतिआक्रमणमार्फत अवसर सिर्जना गरे पनि गोल हुन सकेको थिएन। तर पहिलो हाफको अतिरिक्त समयमा मिन माया श्रेष्ठले शानदार गोल गर्दै १४ जीआर एफसीलाई महत्वपूर्ण अग्रता दिलाइन्।

दोस्रो हाफमा पनि १४ जीआर एफसीले खेलमा दबाब कायम राख्यो। टोलीकी अनुभवी खेलाडी उषा शाहीले दोस्रो गोल थप्दै टोलीको जीत सुनिश्चित गरिन्। कालिकोट एफसीले खेलमा फर्कने प्रयास गरे पनि १४ जीआरको मजबुत रक्षापंक्ति तोड्न सफल हुन सकेन। उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक पहिलो गोल गरेकी मिन माया श्रेष्ठ “प्लेयर अफ द म्याच” घोषित भइन्।

यस जीतसँगै १४ जीआर एफसीले सेमिफाइनल यात्रा तय गरेको छ। अब सेमिफाइनल समीकरण पनि पूरा भएको छ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक युथ अफ टीकापुर र भजनी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल शुक्रबार दिउँसो ३:३० बजे वीरेन्द्र खेलमैदानमा सञ्चालन हुनेछ।

त्यस्तै अर्को सेमिफाइनलमा १४ जीआर एफसी र सैपाल युथ क्लब आमनेसामने हुनेछन्। दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

महिला खेलाडीहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा महिला फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा पश्चिम नेपालका विभिन्न जिल्लाका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको आयोजना युथ अफ टीकापुरले गरेको हो।

प्रतियोगिताको विजेताले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताको उद्घाटन वैशाख २७ गते सम्पन्न भएको हो भने फाइनल खेल जेठ ३ गते दिउँसो ३:३० बजे सञ्चालन हुनेछ।

Post Comments