News सखुवानी जागृतिलाई प्रथम मायादेवी कपको उपाधि
सुरज राना मगर

बसडिलवा । प्रतिस्पर्धात्मक नतिजाका साथ यहाँ सम्पन्न प्रथम मायादेवी कप सिक्स ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सखुवानी जागृति युवा क्लबले जितेको छ ।

मायादेवी गाउँपालिका–८, बसडिलवा स्थित स्थानीय खेलमैदानमा भएको खेलमा सखुवानी जागृतिले डिवाइसीलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । जागृतिको जितमा रोशन थापा र सुरज थारुले गोल गरे । सुरजले पेनाल्टीमार्फत गोल गरेका थिए । उता डिवाइसीका लागि भने एनिराजन खत्रीले गोल फर्काएका थिए ।

मायादेवी गाउँपालिकासहित मायादेवी वार्ड नम्बर ८ को कार्यालय, मायादेवी ब्रेस्ट केयर सेन्टर, रुपन्देही, होटल यात्री, भैरहवा, एक्सपर्ट ऐजुकेशन, भैरहवा, फ्युचर लाईट इङलिस स्कुल, रुपन्देही तथा किंग्स क्याफे, भैरहवाको विशेष सहयोग र प्रायोजन रहेको प्रतियोगिताको विजेता बनेको जागृतिले उपाधिसहित नगद ३० हजार नगद हात पार्यो भने उपविजेता डिवाइसीले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, विशिष्ट अतिथी मायादेवी गाउँपालिका वार्ड नम्बर ८ का अध्यक्ष चोक बहादुर थापा, आयोजक मायादेवी युवा क्लबका अध्यक्ष कृष्ण बहादुर गुरुङ, खेल संयोजक गौतम शाही ठकुरी लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments