सुन्दरनगर । स्थानीय खेलाडीहरुलाई सक्दो अवसर प्रदान गर्ने उद्देश्यका साथ रुपन्देहीको कञ्चन गाउँपालिका–१, सुन्दरनगरमा प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
सुन्दरनगर खेलमैदानमा भएको उद्घाटन खेलमा मुर्गिया फुटबल क्लब (ए) र नमुना युवा क्लब (बी) ले विजयी शुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिन भएका दुवै खेलहरुको नतिजा टाईब्रेकरबाट निकालिएको थियो ।
उद्घाटन खेलमा मुर्गियाले दि मिलन क्लबलाई टाईब्रेकरमा २–१ ले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि मुर्गियाले पेनाल्टीमा नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा मुर्गियाका गोलरक्षक अमित शाह म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै बिहीबार नै सम्पन्न दोस्रो खेलमा नमुना युथले सदगढी युथ क्लबलाई टाईब्रेकर मै ३–२ ले पराजित गर्यो । निर्धारित समयको खेल यी दुई टोलीले पनि गोलरहित बराबरी खेलेका थिए । खेलमा नमुनाका गोलरक्षक अमन श्रीस म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कञ्चन गाउँपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष हरि नारायण थारु, युवा समाजसेवी तथा प्रतियोगिताका मुख्य प्रायोजक भक्त बहादुर थापा, प्रायोजक समिर भुजेल, खेल संयोजक रबिन थापा लगायतले संयुक्त रुपमा गरेका थिए ।
सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।

