काठमाडौं । जारी साफ यु–२० महिला च्याम्पिनसिपतर्फ नेपालकी सिमरन राई र बंगलादेशकी सगोरिकालाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले तीन खेलहरुको प्रतिवन्ध लगाएको छ ।
बंगलादेशी मिडिया डेली सनका अनुसार नेपालकी सिमरन र बंगलादेशकी सगोरिकालाई साफले आवश्यक छानबिन पश्चात् तीन खेलको प्रतिवन्धसँगै जनही ५००–५०० डलर जरिवाना गरेको छ ।
यो प्रतिवन्धसँगै अब यी दुई खेलाडी लिग चरणको अन्तिम खेलमा मात्र आ–आफ्नो टोलीका लागि उपलब्ध हुनेछन् । रोचक कुरा त, लिग चरणको अन्तिम खेलमा २१ जुलाईका दिन फेरि बंगलादेश र नेपाल नै भिड्ने कार्यक्रम छ ।
स्मरण रहोस, जारी साफ यु–२० महिला च्याम्पियनसितर्फ १३ जुलाईका दिन भएको पहिलो लेगतर्फको नेपाल र बंगलादेशबीचको खेलका क्रममा सिमरन र सगोरिका हातपातमा उत्रिएका थिए ।
दोस्रो हाफको ५६औं मिनटमा हातपातमा उत्रिएका सिमरन र सगोरिकालाई भुटानी रेफ्री छिरिङ याङ्खेले सोझै रातो कार्ड देखाएकी थिईन् । सो खेलमा बंगलदेशसँग नेपाल ३–२ ले पराजित हुन पुगेको थियो ।