News युइएफए महिला युरोः साविक विजेता इङल्याण्ड सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता इङल्याण्ड जारी युइएफए महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

दोस्रो क्वाटरफाइनलतर्फ इङल्याण्डले पेनाल्टी शुटआउटमा अर्को पूर्व विजेता स्वीडेनलाई हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेल शुरु भएको दोस्रो मिनट मै कोसोवरे असलानीको गोलबाट स्वीडेनले खेलमा सनसनीपूर्ण अग्रता लिएको थियो । २५औं मिनटमा एम्मा स्टिनाले स्वीडेनका लागि दोस्रो गोल गरेपछि इङल्याण्ड थप दबाबमा आएको थियो ।

यद्यपि इङलिस टोलीले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । एक समय स्वीडेन जित नजिक पुगिरहेका बेला ७९औं मिनटमा लुसिया ब्रन्जले इङल्याण्डका लागि पहिलो गोल फर्काईन् । त्यसको दुई मिनट लगतै ८१औं मिनटमा मिचेली अग्यीमाङले इङल्याण्डका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएकी थिईन् ।

त्यसपछिको अतिरिक्त समयको खेल पनि २–२ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा इङल्याण्डले स्वीडेनमाथि ३–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । इङल्याण्डले अब २२ जुलाईका दिन हुने पहिलो सेमिफाइनलमा इटालीको सामना गर्नेछ । इटालीले बुधबार पहिलो क्वाटरफाइनलतर्फ नर्वेलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

Post Comments