News रोहितले जापानी लिजेण्ड होण्डा सम्मिलित एसियाका हस्तीहरुसँग खेल्ने
गोलनेपाल

काठमाडौं । नेपाली फुटबल टोलीका स्टार खेलाडी रोहित चन्दले एसियाका हस्ती फुटबल खेलाडीहरुसँग खेल्ने भएका छन् । रोहितलाई यसै वर्षको शुरुवातमा स्थापित एसियाका लिजेण्ड खेलाडीहरु सम्मिलित एसिया वारियर्स फुटबल क्लबले आफ्नो स्क्वाडमा सामेल गरेको छ ।

क्लबको संस्थापकमा जापानका लिजेण्डरी फुटबल खेलाडी केइसुके होण्डा रहेका छन् । फुटबलको माध्यमबाट सकारात्मक परिवर्तनका लागि एसिया वारियर्सले विश्वव्यापी रुपमा रचनात्मक काम गर्ने लक्ष्य लिएको छ ।

च्यारिटी फुटबल, सामाजिक परियोजना तथा अन्य फुटबल सम्बन्धी गतिविधीमा सक्रिय भई क्लबले आफ्नो दायरा अन्तर्राष्ट्रिय स्तरमै फराकिलो बनाउने योजना समेत बनाएको छ ।

रोहितका लागि पनि यो एउटा सुनौलो अवसर हुनेछ । आफ्नो करियरको अधिकांश समय इण्डोनेसियाको शिर्ष लिग फुटबलमा बिताएका रोहितले एसिया वारियर्ससँग जोडिएपछि विश्वस्तरकै चर्चित लिजेण्डरी खेलाडीहरुसँग खेल्ने अवसर समेत पाउने छन् ।

संयोग कस्तो भन्दा एसिया वारियर्सले आफ्नो च्यारिटी खेल रोहित कै क्लब पेर्सिक केदिरी विरुद्ध खेल्दैछ । जुन खेल यही जुलाई २० तारीख आइतबारका दिन हुँदैछ ।

Post Comments