News महिला लिगमा पुलिसको फराकिलो जित
गोलनेपाल

काठमाडौं  । राष्ट्रिय महिला लिगको अन्तिम चरणको खेलतर्फ विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा फराकिलो जित हात पारेको छ । बुधबार उद्घाटन खेलमा मात्र आर्मीसँग बराबरी खेलेको पुलिसले शुक्रबार भने चौदण्डीगढी नगरपालिका, उदयपुरमाथि ६–० को फराकिलो जित निकाल्यो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलको २८औं मिनटमा रेखा पौडेलले पहिलो गोल गरिन् । ४१औं मिनटमा अमृता जैसीले त्यो अग्रता दोब्बर पारिन् । त्यस्तै पहिलो हाफकै ४५औं मिनटमा श्रृजना खड्काले पुलिसका लागि तेस्रो गोल गरिन् ।

त्यसको दुई मिनट लगतै पहिलो हाफ कै इन्जुरी समयमा निर्मला बिकले पुलिसको त्यो अग्रता ४–० को स्थितिमा पुर्याईन् । पुलिसको जितमा पाँचौं गोल फेरि रेखा पौडेल कै नाममा रह्यो । पौडेलले ८९औं मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको अग्रता ५–० को स्थितिमा पुर्याइन् ।

खेलको अन्तिमसम्म चौदण्डीगढी माथि हावी देखिएको पुलिसका लागि ९०+३औं मिनटमा श्रृजना खड्काले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै पुलिसको फराकिलो जित सुनिश्चित गरिन् । खेलको प्लेयर अफ द म्याच पुलिसकी श्रृजना खड्का घोषित भईन् ।

शनिबार दुई खेलहरु हुने

एन्फाले सार्वजनिक गरेको खेलतालिका अनुसार लिग अन्तरगत माघ १० गतेका दिन दुई खेलहरु हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिका, स्याङ्जासँग खेल्नेछ भने दोस्रो खेलमा एपिएफ क्लब र बिराटनगर महानगरपालिका, मोरङ भिड्ने छन् ।

(तस्विरः एन्फा)

 

Post Comments