काठमाडौं । एसिया कै पुरानो मध्ये एक र प्रतिष्ठित १३४औं डुरान्ड कप अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेको त्रिभुवन आर्मी फुटबल क्लबले आज आफ्नो पहिलो खेल खेल्दैछ ।
समूह सी मा रहेको आर्मीले इण्डियन सुपर लिग क्लब जमशेदपुर फुटबल क्लबसँग खेल्दैछ । जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा हुने खेल नेपाली समयअनुसार ४ः४५ बजेदेखि शुरु हुनेछ ।
समूह सी मा यी दुई टोली बाहेक इण्डियन आर्मी र वान लदाख फुटबल क्लब पनि सामेल छन् । आर्मीले आफ्नो दोस्रो खेल २ अगस्तका दिन लदाखसँग र ५ अगस्तका दिन इण्डियन आर्मीसँग खेल्ने कार्यक्रम छ ।
प्रतियोगितामा सहभागि २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली सोझै नकआउट चरणमा प्रवेश गर्नेछ भने उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने दुई टोलीले पनि नकआउट चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको सबै खेलहरुको प्रत्यक्ष प्रसारण सोनी स्पोर्टस नेटवर्क र सोनी लाईभले गर्नेछ ।