काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३४औं डुरान्ड कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लबस्तरीय फुटबल प्रतियोगितामा नेपालबाट सहभागि एक्लो टोली त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो पहिलो खेलमै हार बेहोरेको छ ।
समूह सी तर्फको पहिलो खेलमा त्रिभुवन आर्मीले इण्डियन सुपर लिग क्लब जमशेदपुर एफसीसँग २–३ को हार बेहोरेको हो । जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा भएको खेलमा जमशेदपुरका लागि सार्थक गोलुई, मनविर सिंह र निखिल बर्ताले गोल गरेका थिए । उता त्रिभुवन आर्मीका लागि भने जर्ज प्रिन्स कार्की र अनन्त तामाङले गोल फर्काएका थिए ।
समूह चरणको आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मीले आगामी अगस्त २ तारीखका दिन वान लदाख फुटबल क्लबसँग खेल्नेछ । प्रतियोगितामा सहभागि २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने दुई टोलीहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
सोही अवसरमा खेल शुरु हुनु अघि भारतीय सेना र त्रिभुवन आर्मीका वरिष्ठ अधिकारीहरुबीच शिष्टाार भेटघाट र परिचयात्मक कार्यक्रम समेत सम्पन्न भएको थियो ।