News ब्राजीलको महिला फुटबल टोलीलाई किर्तिमानी नवौं पटक कोपा अमेरिकाको उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी राष्ट्रिय महिला फुटबल टोलीहरुबीच हुने प्रतिष्ठित कोपा अमेरिका फेमिनिना फुटबल प्रतियोगिताको दशौं संस्करणको उपाधि डिफन्डिङ च्याम्पियन ब्राजीलले किर्तिमानी नवौं पटक जितेको छ ।

फाइनलमा गत संस्करण कै उपविजेता कोलम्बियालाई टाईब्रेकरमा हराउँदै ब्राजील च्याम्पियन बनेको हो । इक्वाडरको राजधानी क्वीटोमा सम्पन्न फाइनलमा निर्धारित र अतिरिक्त समयको प्रतिस्पर्धात्मक खेल ४–४ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा ब्राजीलले कोलम्बियालाई ५–४ ले हराउँदै उपाधि उचाल्यो ।

स्मरण रहोस, प्रतियोगिताको दश संस्करणहरु मध्ये सन् २००६ मा सम्पन्न पाँचौं संस्करण मात्र अर्जेन्टिनाले जितेको थियो । त्यसबाहेक बाँकी सबै संस्करणमा ब्राजीलले कब्जा जमाएको छ । फाइनल प्रवेश गर्ने क्रममा ब्राजीलले सेमिफाइनलमा उरुग्वेलाई पराजित गरेको थियो भने कोलम्बियाले अर्जेन्टिनालाई हराएको थियो ।

त्यस्तै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल २–२ को बराबरी खेलेपछि टाईब्रेकरमा अर्जेन्टिनाले ५–४ ले विजयी बन्यो ।

Post Comments