News रुपन्देहीकी आरोसीलाई युवा समाजसेवी बोहराको प्रोत्साहन स्वरुप खेलकुद सामाग्री सहयोग
सुरज राना मगर

टिकुलीगढ । रुपन्देहीलाई कर्मथलो बनाएर निरन्तर खेलकुदसँगै समाजसेवामा होमिएका युवा समाजसेवी प्रज्ज्वल बोहराले तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४, टिकुलीगढकी उदाउँदो र मेहनती महिला खेलाडी आरोसी जिसीलाई प्रोत्साहन स्वरुप खेलकुद सामाग्री सहयोग गरेका छन् ।

आफ्नो गृहनगर कै टोली नव टिकुलीगढ युवा क्लबमा आवद्ध रही नियमित प्रशिक्षक समेत लिईरहेकी १२ वर्षिय आरोसी फुटबलमा राम्रो सम्भावना बोकेकी खेलाडी रहेको क्लबको व्यवस्थापनको जिम्मेवारी हेरिरहेका दिपक मगरले बताए । हाल कक्षा ८ मा अध्यनरत आरोसीले अवसर पाए अझैं राम्रो गर्ने लक्ष्य समेत लिएकी छिन् । आरोसीलाई एक कार्यक्रमका बीच केही थान फुटबल, जर्सी, बुट लगायतका खेलकुद सामाग्रीहरु हस्तानतरण गरिएको थियो ।

उता खेलकुद सामाग्री सहयोग गरेका प्रज्ज्वल बोहराले युवा खेलाडीहरु राष्ट्र कै नक्षत्रका रुपमा रहेको बताउँदै त्यस्ता खेलाडीहरुलाई पहिचान गरी उचित अवसर दिनुपर्ने बताए । साथै क्षमतावान खेलाडीहरुलाई आफ्नो तर्फबाट सकेको साथ, सहयोग र यस्ता प्रोत्साहनका कार्यहरु निरन्तर रहने प्रद्धिवद्धता समेत जनाए ।

स्मरण रहोस, नव टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४, टिकुलीगढ रुपन्देहीको स्थानीय फुटबलका परिचित क्लब कै रुपमा रहेको छ । साथै क्लबले वार्षिक रुपमा नव टिकुलीगढ कप खुला फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आईरहेको क्लबका अध्यक्ष बिजय गुरुङले जानकारी दिए ।

 

Post Comments