News छैटो छथर गाउँपालिका अध्यक्ष कपमा धनकुटा र म्याङलुङ स्पोर्टिङको विजयी सुरूवात
गोलनेपाल

छथर । तेह्रथुमको छथर गाउँपालिकामा ऐतिहासिक भदौरे पूर्णिमाको पावन अवसर पारेर आयोजना गरिएको छैठौं छथर गाउँपालिका अध्यक्ष कप २०८२ आमन्त्रित फुटबल प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएका छन ।

पहिलो खेलमा सिसीडीआईसी धनकुटाले आयोजक छथर गाउँपालिका, तेह्रथुमलाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।

त्यस्तै, दोस्रो खेलमा म्याङलुङ स्पोर्टिङले पञ्चायन फुटबल क्लब, सुनसरीलाई शून्यका विरुद्ध एक गोलले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो।

ऐतिहासिक रूपमा मनाइँदै आएको भदौरे पूर्णिमा (ढ्याङढ्याङ्गे पूर्णिमा) खेलकुद तथा लोपोन्मुख धामी–झाँक्रीको रैथाने कला प्रस्तुत गर्ने मेलाका रूपमा चिनिँदै आएको छ। मेलाको प्रवर्द्धन तथा खेलकुद पर्यटन विकासलाई जोड दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगदसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गाउँपालिकाका प्रवक्ता राजन नेपालीका अनुसार, पुरस्कार राशिले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि थप उत्साहित बनाउने विश्वास गरिएको छ।

प्रतियोगितामा सहभागी खेलाडीहरूको व्यक्तिगत प्रतिभालाई कदर गर्दै विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछन्। यी पुरस्कारहरूमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उच्च स्कोरर र उत्कृष्ट प्रशिक्षक समावेश छन्। साथै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई “म्यान अफ द म्याच“ को पुरस्कार प्रदान गरिने फुटबल खेल संयोजक रुपम अधिकारीले बताए।

Post Comments