News एन्फा र सिस्नेरी पहिरोमा ज्यान गुमाएका युवा खेलाडीहरुको परिवारबीच छलफल
गोलनेपाल

काठमाडौं । गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको पहिरोमा परि श्री वत्सलादेवी माध्यमिक विद्यालय इन्द्रसरोवर-३ सिस्नेरी मकवानपुर स्थित एन्फा एकेडेमीका स्वर्गारोहण भएका खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनका परिवार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव किरण राईको अध्यक्षतामा छलफल भएर निम्नानुसार सहमति भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा स्वर्गीय खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनको स्मृतिमा एन्फा यू–१४ छात्र/छात्रा अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ सञ्चालन गर्ने निर्णय गरिएको छ। यसअनुसार, सम्बन्धित परिवारजनलाई सम्बन्धित जिल्लामा जिल्ला फुटबल संघमार्फत र केन्द्रमा केन्द्रीय स्तरमा सहभागी गराई प्रतियोगिता सञ्चालन गर्ने सहमति गरिएको छ।

यस्तै, स्वर्गीय खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनको अर्धकदको सालिक एन्फा कम्प्लेक्स, सातदोबाटोमा स्थापना गर्ने निर्णय गरिएको छ। सालिक निर्माण सम्पन्न भएपछि, परिवारजनको आपसी सहमतिमा घटनाको वार्षिक पुण्यतिथि वा अन्तर–विद्यालय प्रतियोगिताको फाइनल खेलको अवसरमा अनावरण गरिनेछ।

तसर्थ, स्वर्गीय खेलाडीहरूको स्मृतिमा स्थानीय स्तरमा फुटबल खेलको विकासलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्न सम्बन्धित परिवारजनको सहमतिअनुसार क्षेत्रमा अक्षयकोष स्थापना गरिनेछ। उक्त कोष निर्माणका लागि अन्य सहयोगी संघ–संस्था तथा व्यक्तिहरूलाई समेत सहयोगको लागि आह्वान गरिनेछ। कोषको सञ्चालन सम्बन्धित परिवारजनकै पूर्ण अधिकारमा रहनेछ।

Post Comments