News यतिलाई उपाधि जिताउन आशिष लामाको ह्याट्रिक
गोलनेपाल

काठमाडौं । अष्ट्रेलियामा रहेका प्रवासी नेपालीहरुबीच फेवा फुटबल क्लब, सिड्नीको आयोजनामा सम्पन्न छैठौं ताल बाराही कप खुला फुटबल प्रतियोगिताको उपाधि साविक विजेता यति फुटबल क्लब, मेलबर्नले जितेको छ ।

फाइनलमा यतिले सेन्ट जर्ज नेप्लिज क्लब, सिड्नीलाई ३–० को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । यतिको जितमा आशिष लामा एक्लैले ह्याट्रिक गर्दै टोलीका लागि नायक र निर्णायक बने ।

विजेता बनेको यतिले उपाधिसहित नगद ६ हजार अष्ट्रेलिन डलर हात पार्दा उपविजेता सेन्ट जर्जले २५०० अष्ट्रेलियन डलरसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

फाइनलमा ह्याट्रिक गरेका यति एफसीका आशिष लामा म्यान अफ दि म्याच चुनिए । अन्य विधागततर्फ यति एफसी कै एलन न्यौपाने उत्कृष्ट गोलरक्षक बने । उत्कृष्ट डिफेन्डर पनि यति कै दिनेश राजबंशी चुनिए ।

उत्कृष्ट मिडफिल्डर सेन्ट जर्जका डेविड कुमाल बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार यति कै आशिष लामाले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने यतिका तेज तामाङ घोषित भए । त्यस्तै क्रेगबर्न ब्रिगेड स्पोर्टस क्लबले फेयर प्ले पुरस्कार हात पार्यो ।

भेट्रान्सतर्फ फेवा च्याम्पियन

त्यसैगरी भेट्रान्सतर्फको उपाधि भने आयोजक फेवा फुटबल क्लबले नै हात पार्यो । फाइनलमा सेन्ट जर्ज नेप्लिज क्लबलाई हराउँदै फेवा च्याम्पियन बनेको हो ।

विजेता बनेको फेवाले उपाधिसहित नगद २५०० अष्ट्रेलियन डलर हात पार्यो भने उपविजेता सेन्ट जर्जले १००० अष्ट्रेलियन डलरसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

समिप गौचन फाइनल खेलको म्यान अफ दि म्याच बने । अन्य विधागततर्फ दिपेन्द्र गुरुङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक समिप गौचन बन्दा सर्वाधिक गोलकर्ता सलव गौचन चुनिए । त्यस्तै क्वीन्सल्याण्ड नेप्लिज लिजेन्डसले फेयर प्ले पुरस्कार हात पार्यो ।

 

Post Comments