News टोरोन्टो नेपालिजलाई क्यानडामा एचटी एथलेटिक नेपाल कपको उपाधि
गोलनेपाल

काठमाडौं । नेपालीज पिल एफसी र नेपाली जनजाति संघ क्यानडाको संयुक्त आयोजनामा सम्पन्न नेपाल कप फुटबल प्रतियोगिताको उपाधि टोरोन्टो नेपालिज स्पोर्टस क्लबले जितेको छ ।

एन्ड्रयु म्याकक्यान्डलस पार्कमा भएको उपाधि भिडन्तमा टोरोन्टोले आयोजक नेपालिज पील फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ टोरोन्टोका लागि सक्षम भट्टराईले गोल गरेका थिए भने आयोजक नेपालिज पिलका लागि तेन्जिनले गोल गरेका थिए । टाईब्रेकरमा भने टोरोन्टो ५–४ ले विजयी बन्यो ।

एचटी एथलेटिक मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेता बनेको टोरोन्टोले उपाधिसहित नगद ५ हजार क्यानेडियन डलर हात पार्यो भने उपविजेता नेपालिज पिलले २५०० क्यानेडियन डलरसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

क्यानडामा रहेका प्रवासी नेपालीहरुबीच फुटबल खेलको माध्यमबाट भाईचारा कायम गर्न तथा आपसी सदभावका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष सुजन गुरुङले बताए । साथै यस्ता प्रतियोगिताहरुलाई आउने दिनहरुमा पनि निरन्तरता दिने योजना रहेको सुनाए । साथै उनले सबै सहयोगी र शुभेच्छुकहरुलाई धन्यवाद समेत दिए ।

Post Comments