News सात गोल गर्दै लिस्नु कपको अन्तिम चारमा अञ्चलपुर
सुरज राना मगर

कोटिहवा । एकतर्फी जितका साथ अञ्चलपुर युवा क्लब रुपन्देहीमा जारी यशोदा फुड्स २३औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

शनिबार सम्पन्न तेस्रो क्वाटरफाइनलतर्फ अञ्चलपुरले समपुर्ण युवा क्लबलाई ७–४ को अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा अञ्चलपुरका लागि आशिष गुरुङ र उज्ज्वल राईले दुई–दुई गोल गर्दा बिजय सिंह ठकुरी र चन्दन दासको नाममा थप एक–एक गोल रह्यो । अर्को एक गोल भने समपूर्णका गणेश हमालले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

उता पराजित समपुर्णका लागि भने सबी गुरुङले दुई गोल गर्दा गणेश हमाल र सिजन राज गौतमले थप एक–एक गोल गरेका थिए । खेलमा अञ्चलपुरका आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भदौ २२ गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल कपिलवस्तु–११ र अभिषेक चर्च एफसी, नवलपुरबीच हुने खेल संयोजक अशोक थापाले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजना तथा यशोदा फुड्स प्रा।लि।को मुख्य प्रायोजनसँगै तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने भदौ २७ गतेका दिन हुनेछ ।

Post Comments