News कतारः नाइन स्टार कपमा तेस्रो साता चार खेलहरु सम्पन्न
गोलनेपाल

काठमाडौं । नाइन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजनामा जारी नाइन स्टार कप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो साताको खेलतर्फ चार खेलहरु सम्पन्न भएका छन् ।

तेस्रो सातातर्फको पहिलो खेलमा अलखोर ब्वाईज एफसीले गोर्खाली एफसीलाई २–० ले हरायो । अलखोरको जितमा दुवै गोल अर्जुन थापाले गरे । थापा नै खेलको म्यान अफ दि म्याच चुनिए । जित हात पारेको अलखोर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

दोस्रो खेलमा नेपाली एफसी (रसलाफान) ले युनिपार्ट एफसीलाई ६–१ को फराकिलो अन्तरले हरायो । नेपाली एफसीका लागि देवलाल रोकाले चार गोल गोल गर्दा थप दुई गोल मोहन सुनारले गरे । उता पराजित युनिपार्टका लागि देवेन्द्र थापाले एक मात्र गोल फर्काएका थिए । खेलमा नेपाली एफसीका देवलाल रोका म्यान अफ दि म्याच चुनिए । यो जितसँगै नेपाली एफसी पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो खेलमा पेट्रो एफसीले रोयल एफसीलाई ५–१ ले हरायो । पेट्रोका लागि गणेश बुची र रोशन खड्काले समान दुई–दुई गोल गरे । थप एक गोल सुमन लिम्बुले गरेका थिए । उता रोयलका लागि भने समिर बिकले एक मात्र गोल फर्काएका थिए । खेलमा पेट्रोका गणेश बुची म्यान अफ दि म्याच चुनिए । यो जितसँगै पेट्रो प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै चौथो खेलमा आयोजक नाइन स्टार उफसी (सेतो) ले एभरेष्ट एफसीलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा नाइन स्टारका गोलरक्षक निकेश भुर्तेल म्यान अफ दि म्याच बने । यो जितसँगै आयोजक नाइन स्टार एफसी (सेतो) क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

आगामी अक्टुबर ३ तारीखसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४४ कतारी रियाल हात पार्नेछ भने उपविजेताले २,२२२ कतारी रियाल प्राप्त गर्ने खेल संयोजक प्रविन राईले जानकारी दिए ।

Post Comments