News फिफा यु–२० विश्वकपः जापानको लगातार दोस्रो जित, दक्षिण कोरियालाई पहिलो अंक
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा यु–२० विश्वकप अन्तर्गत समुह ए मा रहेको एसियन पावर हाउस जापानले समूह चरणतर्फ लगातार दोस्रो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना लगभग निश्चित गरेको छ ।

जापानले आफ्नो लगातार दोस्रो जित हात पार्ने क्रममा आयोजक चिलीलाई २–० ले हरायो । सोही समूहमा रहेको न्युजिल्याण्डले इजिप्टमाथि २–१ को महत्वपूर्ण जित हात पार्यो ।

दुई खेलहरुको नतिजापश्चात् ६ अंक जोडेको जापान समूह ए को शिर्ष स्थानमा छ । समान ३–३ अंक जोडेका चिली र न्युजिल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन इजिप्ट पुछारमा छ ।

समूह चरणको अन्तिम खेलमा ३ अक्टुबरका दिन चिलीले इजिप्टसँग खेल्नेछ भने सोही दिन जापान र न्युजिल्याण्ड पनि आमने सामने हुनेछन् ।

दक्षिण कोरियालाई पहिलो अंक

त्यस्तै समूह बी तर्फ आफ्नो पहिलो खेलमा युक्रेनसँग पराजित हुन पुगेको दक्षिण कोरियाले दोस्रो खेलमा अंकको खाता खोलेको छ । यद्यपि जित भने हात पार्न सकेन । दक्षिण कोरियाले आफ्नो दोस्रो खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्यो । समूह बी कै अर्को खेलमा युक्रेन र पानामाले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

दुई खेलहरुको समाप्ती पश्चात् ४–४ अंक जोडेका युक्रेन र पाराग्वे समूह बी को पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान एक–एक अंक जोडेका पानामा र दक्षिण कोरिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समूह बी मा दुई खेलहरुको समाप्ती पश्चात् चारै टोलीहरुको सम्भावना कायम छ । र नकआउट चरणमा पुग्ने टोलीहरुको टुंगो अन्तिम खेलबाटै लाग्नेछ । समूह चरणको अन्तिम खेलमा ३ अक्टुबरका दिन पानामाले दक्षिण कोरियासँग खेल्नेछ भने सोही दिन युक्रेन र पाराग्वे पनि आमने सामने हुनेछन् ।

Post Comments