News फिफा यु–२० विश्वकपः अर्जेन्टिना र मोरक्को नकआउट चरणमा, स्पेन र ब्राजीलको सम्भावना कठिन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी राष्ट्र चिलीमा जारी फिफा यु–२० विश्वकपतर्फ पूर्व विजेता अर्जेन्टिना र मोरक्को आफ्नो समूहबाट नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह डी मा रहेको अर्जेन्टिनाले लगातार दोस्रो जित हात पार्ने क्रममा अष्ट्रेलियालाई ४–१ ले हरायो । सोही समूहको अर्को खेलमा इटाली भने क्युबासँग २–२ को बराबरीमा रोकियो ।

दुई खेलपश्चात समूह डी मा ६ अंक जोडेको अर्जेन्टिना एक खेल बाँकी छँदै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै ४ अंक जोडेको इटाली दोस्रो स्थानमा रहँदा १ अंक जोडेको क्युबा तेस्रो स्थानमा छ । अंकविहीन अष्ट्रेलिया पुछारमा छ ।

इटाली र क्युबालाई सोझै नकआउट चरण प्रवेश गर्न अन्तिम खेल नै पर्खनुपर्नेछ । समूह चरणको अन्तिम खेलमा ४ अक्टुबरका दिन इटालीले अर्जेन्टिनाको सामना गर्नेछ भने सोही दिन क्युबाले अष्ट्रेलियासँग खेल्नेछ ।

मोरक्कोको लय, स्पेन र ब्राजीलको संघर्ष जारी

त्यस्तै समूह सी तर्फ मोरक्को नकआउट चरणमा प्रवेश गर्दा अर्का दुई दावेदार स्पेन र ब्राजीलले अझै संघर्ष गरीरहेका छन् । समूह सी तर्फ पहिलो खेलमा पराजित भएको स्पेनले दोस्रो खेलमा मेक्सिकोसँग २–२ को बराबरीमा रोकियो । त्यस्तै पहिलो खेलमा बराबरी खेलेको ब्राजीलले दोस्रो खेलमा मोरक्कोसँग १–२ को हार बेहोर्न पुग्यो ।

समूह सी मा २ खेलबाट ६ अंक जोडेको मोरक्को नकआउट चरणमा प्रवेश गरेको छ । २ अंकका साथ दोस्रो स्थानमा रहेको मेक्सिकोको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ । समान १–१ अंक जोड्दै तेस्रो र चौथो स्थानमा रहेका ब्राजील र स्पेनको पनि झिनो सम्भावना भने कायम छ ।

समूह चरणको अन्तिम खेलमा ४ अक्टुबरका दिन स्पेन र ब्राजील आमने सामने हुनेछन् । यो खेलमा दुवै टोलीलाई निश्चित जितको खाँचो पर्नेछ । त्यस्तै सोही दिन मोरक्कोले मेक्सिकोसँग खेल्नेछ । स्पेन र ब्राजीलको खेलमा निश्चित नतिजा निस्किए मेक्सिकोलाई पनि निश्चित जित कै खाँचो पर्नेछ ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल १९ अक्टुबरका दिन चिलीको राजधानी सान्टियागोमा हुनेछ ।

Post Comments