News नेपालले मलेसिया विरुद्धको घरेलु खेल मलेसिया मै खेल्ने
गोलनेपाल

काठमाडौं । फिफा र एएफसी मापदण्डको रंगशाला नभएको भन्दै एएफसी एसियन कप छनौट प्रतियोगितातर्फ मलेसिया विरुद्धको घरेलु खेल पनि नेपालले मलेसिया मै खेल्ने भएको छ ।

समूह एफमा रहेको नेपालले भियतनाम विरुद्ध यही अक्टुबर ८ र १४ तारीखका दिन दुई होम एण्ड अवे म्याच खेल्दैछ । दुर्भाग्य मान्नुपर्छ नेपालले भियतनाम विरुद्धको घरेलु खेल पनि भियतनाम मै खेल्दैछ ।

अहिले आएर अब १८ नोभेम्बरका दिन मलेसिया विरुद्ध हुने भनिएको नेपालको घरेलु खेल पनि मलेसियाको क्वालालम्पुर स्थित बुकिट जलील नेशनल स्टेडियममा हुने तय भएको छ ।

एसियन कप छनौटतर्फ हालसम्म एउटै खेल जित्न नसकेको नेपालले घरेलु मैदानमा खेल्न नपाउँदा थप दबाबमा पर्ने निश्चित देखिएको छ । त्यसो त एएफसीले कृत्रिम घाँसे मैदानमा अब अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन नपाउने नियम बनाईसकेको छ ।

यद्यपि नेपालसँग प्राकृतिक घाँसे मैदान रहेको दशरथ रंगशाला भए तापनि फिफा र एएफसीले दशरथ रंगशालालाई पटक–पटक अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्न अयोग्य रहेको बताईसकेको छ । जसलाई नेपाली फुटबलमा दुर्भाग्य र सम्बन्धित निकायको गैरजिम्मेवारी र लाचारीपनि नै मान्नुपर्छ ।

Post Comments