काठमाडौं (एजेन्सी) । उत्कृष्ट लयमा देखिएको अमेरिका जारी फिफा यु–२० विश्वकपतर्फ समूह ई बाट नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
समूह चरणतर्फ आफ्नो दोस्रो खेलमा अमेरिकाले बलियो फ्रान्समाथि ३–० को जित निकाल्दै एक खेल खेल्न बाँकी छँदै नकआउट चरणमा प्रवेश गरेको हो ।
समूह ई कै अर्को खेलमा दक्षिण अफ्रिकाले न्यु केलीडोनियालाई ५–० को अन्तरले हरायो । समूह ई मा दुई खेलबाट अमेरिकाको ६ अंक छ र शिर्ष स्थानमा छ । समान ३–३ अंक जोडेका दक्षिण अफ्रिका र फ्रान्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन न्यु केलीडोनिया भने पुछारमा छ ।
समूह चरणको अन्तिम खेलहरुमा अक्टुबर ५ तारीखका दिन दक्षिण अफ्रिकाले अमेरिकासँग खेल्नेछ भने सोही दिन न्यु केलीडोनियाले फ्रान्सको सामना गर्नेछ । यी दुई खेलबाट नकआउट चरणमा प्रवेश गर्ने थप एक टोलीको टुंगो लाग्नेछ ।
समूह एफ को होड अझै खुला
त्यस्तै समूह एफतर्फ भने सहभागि चार टोलीहरुमध्ये तीन टोलीहरुको सम्भावना अझै खुला रहेको छ । समूह एफतर्फको दोस्रो खेलमा कोलम्बिया र नर्वे बराबरीमा रोकिदा नाइजेरियाले साउदी अरेबियालाई ३–२ ले पराजित गर्यो ।
यो नतिजापछि समूह एफमा दुई खेलबाट समान ४–४ अंक जोडेका कोलम्बिया र नर्वे क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तीन अंक जोडेको नाइजेरिया तेस्रो स्थानमा रहँदा अंकविहीन साउदी अरेबिया पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।
अब समूह चरणको अन्तिम खेलमा अक्टुबर ५ तारीखका दिन नाइजेरियाले कोलम्बियाको सामना गर्नेछ भने सोही दिन नर्वे र साउदी अरेबिया पनि भिड्ने छन् । यी दुई खेलहरुको नतिजाबाटै समूह एफबाट सोझै नकआउट चरणमा प्रवेश गर्ने दुई टोलीहरुको टुंगो लाग्नेछ ।