काठमाडौं (एजेन्सी) । विश्व फुटबलका हस्ती तथा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी छिमेकी राष्ट्र भारत आउने भएका छन् । ३८ वर्षिय अर्जेन्टिनी स्टारले भारत आउन लागेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत जानकारी गराएका छन् ।
मेसी आउँदो डिसेम्बर दोस्रो सातातिर भारत भ्रमणमा आउने छन् । मेसी १३ डिसेम्बरका दिन कोलकाताको साल्ट लेक स्टेडियममा हुने कार्यक्रममा उपस्थित हुनेछन् । त्यस्तै १४ डिसेम्बरका दिन मुम्बई स्थित वानखेडे स्टेडियम र १५ डिसेम्बरमा दिल्ली स्थित अरुण जेटली स्टेडियममा उपस्थित हुनेछन् । त्यसबाहेक उनी भारतका अन्य शहरमा हुने कार्यक्रममा पनि उपस्थित हुन सक्ने बताइएको छ ।
त्यसक्रममा उनले कन्सर्ट, विभिन्न युथ फुटबल कार्यक्रम तथा अन्य च्यारिटी कार्यक्रममा पनि उपस्थिति जनाउने छन् । साथै मेसीले भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीदेखि अन्य विशिष्ठ र चर्चित व्यक्तिहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।