News नेपालका एलनले आइ लिगमा खेल्ने
सुरज राना मगर

काठमाडौं । नेपालका पूर्व युथ खेलाडी एलन थापा मगरले भारतको चर्चित आई लिगमा खेल्ने भएका छन् । एलनलाई आई लिग खेलिरहेको राजस्थान युनाइटेड फुटबल क्लबले नयाँ सिजनका लागि अनुवन्ध गरेको हो ।

हाल भारतीय सेनामा कार्यरत रहँदै भारत कै आर्मी फुटबल टिमबाट समेत खेलिसकेका एलनले अब क्लब फुटबलमा व्यवसायीक फड्को मार्ने क्रममा आई लिगमा पर्दापण गर्न लागेका हुन् ।

मध्यपंक्तिमा खेल्ने एलनलाई अनुवन्ध गरेको कुरा राजस्थानले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

आइ लिग खेल्ने भएपछि एलनले खुशीसँगै उत्साह प्रकट गरेका छन् । परदेशमा रहेर पनि देशका लागि खेल्ने सपना अझै रहेको बताउँदै एलनले आई लिगमा उत्कृष्ट प्रदर्शन गर्न सक्दो प्रयास गर्ने बताए ।

त्यसो त एलनको नेपाली फुटबलसँग पुरानै र अभ्यस्त सम्बन्ध पनि छ । उनले क्लब फुटबलमा खुमलटारका लागि ए डिभिजन लिग खेल्नु बाहेक विभिन्न चर्चित क्लबहरुबाट मोफसलका ठूला प्रतियोगिताहरु पनि खेलिसकेका छन् ।

फुटबलमय पृष्ठभूमिबाट आएका एलनका दाजु डोना थापा पनि नेपाल कै पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन । डोनाले पनि नेपालका लागि साफ युथ च्याम्पियनसिप जितिसकेका छन् भने उनका भाई एरोन थापा पनि हाल नेपाली फुटबलमा सफल र व्यस्त छन् । साथै एरोनले हालै मात्र नेपालको यु–२३ राष्ट्रिय फुटबल टोलीबाट एसियन कप छनौट समेत खेलेका थिए ।

स्मरण रहोस, त्यसो त राजस्थान युनाइटेडमा आवद्ध हुने एलन पहिलो नेपाली खेलाडी भने होईनन् । यसअघि नेपाल कै अनुभवी गोलरक्षक र भारतीय सेना मै कार्यरत भविन्द्र मल्ल पनि राजस्थान युनाइटेड मै आवद्ध छन् ।

Post Comments