News विदेशी फुटबल क्लबमा नेपाली मूलका खेतानको लगानी
गोलनेपाल

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारीक घराना खेतान समूहका सदस्य हाल गैरआवासीय नेपाली चन्द्रप्रकाश (सिपी) खेतानले विदेशी फुटबल क्लबमा लगानी गरेका छन् ।

हाल सिंगापुरलाई कर्मथलो बनाएर वैदेशिक व्यापारमा व्यस्त चन्द्रप्रकाशले स्वीजरल्याण्डको तेस्रो डिभिजनको टोली एफसी साफहाउजेनमा लगानी गरेका हुन् ।

स्वीस सञ्चारमाध्यमहरुका अनुसार खेतानले सिंगापुरको लोटस वान इन्भेष्टमेन्ट मार्फत क्लबमा लगानी गरेका हुन् । खेतानको लगानीसँगै ऋणमा रहेको साफहाउजेनले ऋण समेत चुक्ता गरेको बताइएको छ ।

यद्यपि खेतानले क्लबमा कति रकम लगानी गरेका हुन्, सो खुलाइएको छैन । तर क्लबका अध्यक्ष मार्टिन फ्रिकका अनुसार नयाँ लगानीकर्ताले क्लबमा कम्तिमा १० मिलियन स्वीस फ्र्यान्क लगानी गरेको बताइएको छ । जुन नेपालीमा करिब १ अरब ७८ करोड रुपैयाँ हुन आउँछ ।

यो लगानीसँगै क्लबमा खेतान मुख्य लगानीकर्ता समेत बनेका छन् । साथै क्लबले आगामी पाँच वर्ष भित्र स्वीजरल्याण्डको शिर्ष लिग (सुपर लिग) मा खेल्ने लक्ष्य समेत लिएको छ ।

स्मरण रहोस, चन्द्रप्काश (सिपी) खेतानका पिता नेपालका चर्चित व्यवसायी मोहनगोपाल खेतान हुन् भने उनका दाजु राजेन्द्र खेता पनि नेपालका प्रतिष्ठित व्यवसायीका रुपमा परिचित छन् ।

Post Comments