काठमाडौं (एजेन्सी) । समूह चरणतर्फ सुस्त प्रदर्शन गरेका दुई बलिया प्रत्याशी स्पेन र मेक्सिको जारी फिफा यु–२० विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन् ।
समूह सी बाट उपविजेता बनेको मेक्सिको र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गरेका स्पेनले अन्तिम आठको यात्रा तय गर्न समेत सफल भएका हुन् ।
क्वाटरफाइनल प्रवेश गर्ने क्रममा स्पेनले युक्रेनलाई १–० ले हराउँदै अन्तिम आठको यात्रा तय गर्यो । स्पेनको जितमा खेलको २४औं मिनटमा पाब्लो गार्सियाले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
अर्को खेलमा मेक्सिकोले भने आयोजक चिलीमाथि ४–१ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान तय गर्यो । मेक्सिकोको जितमा ह्युगो क्याम्बरसले दुई गोल गर्दा ताहिल जिमिनेज र इकर ओचोआले एक–एक गोल गरे । उता पराजित चिलीका लागि भने जुआन रोसेलले एक मात्र गोल फर्काएका थिए ।