काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह डी मा रहेको दक्षिण एसियाली राष्ट्र श्रीलंकाले लगातार दोस्रो जित हात पार्ने क्रममा आफूभन्दा निकै माथिल्लो वरियताको तुर्कमेनिस्तानलाई हराएको छ ।
फिफा वरियताको १९७औं स्थानमा रहेको श्रीलंकाले १३८औं स्थानमा रहेको तुर्कमेनिस्तानलाई बिहीबार १–० ले पराजित गर्यो । आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेईलाई ३–१ ले हराएको श्रीलंकाको यो लगातार दोस्रो जित समेत थियो ।
समूह डी कै अर्को खेलमा थाइल्याण्डले चाइनिज ताइपेईलाई २–० ले पराजित गर्यो । बिहीबारको नतिजापछि ३ खेलबाट समान ६–६ अंक जोडेका तुर्कमेनिस्तान, श्रीलंका र थाइल्याण्ड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन ताइपेई भने पुछारमा छ ।
समूह सी तर्फ दक्षिण एसियाका दुई टोलीहरु भारत र बंगलादेशले भने मिश्रित नतिजा निकाले । भारतले सिंगापुरसँग १–१ गोलको बराबरी खेल्दै सोही समूहको अर्को खेलमा हङकङले बंगलादेशलाई ४–३ ले हरायो ।
समूह सी मा तीन खेलबाट ७ अंक जोडेको हङकङ शिर्ष स्थानमा छ । ५ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा रहँदा २ अंक जोडेको भारत तेस्रो स्थानमा छ । त्यस्तै १ अंक जोडेको बंगलादेश पुछारमा छ ।
त्यस्तै समूह ए मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले बलियो ताजिकिस्तानसँग २–० को हार बेहोर्यो । सोही समूहको अर्को खेलमा फिलिपिन्सले टिमोर लिस्टेलाई ४–१ ले हरायो ।
बिहीबारको नतिजापछि ३ खेलबाट समान ७–७ अंक जोडेका ताजिकिस्तान र फिलिपिन्स क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको टिमोर लिस्टे तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ ।
त्यस्तै समूह ई मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानले पहिलो अंक जोड्यो । बिहीबार आफ्नो तेस्रो खेलमा अफगानिस्तानलाई गोलरहित बराबरीमा रोक्दै पाकिस्तानले पहिलो अंक जोडेको हो ।
समूह ई मा एक खेल कम खेलेका सिरिया र म्यानमार २ खेलबाट समान ६ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै १–१ अंक जोडेका अफगानिस्तान र पाकिस्तान भने तेस्रो र चौथो स्थानमा छन् ।
छनौट प्रतियोगिताको बी मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र भुटानले भने लेबनानसँग खेल्ने कार्यक्रम छ ।