काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह एफमा रहेको नेपालले भियतनाम विरुद्धको दोस्रो खेलमा पनि हार बेहोरेपछि सन् २०२७ मा हुने एएफसी एसियन कप खेल्ने नेपालको सपना समाप्त भएको छ ।
मंगलबार महत्वपूर्ण मानिएको खेलमा नेपालले भियतनामसँग ०–१ को हार बेहोर्न पुग्यो । पहिलो हाफको पाँचौं मिनटमा सुमन श्रेष्ठले क्लियर गर्नुपर्ने बल आफ्नै पोष्टमा गोलका रुपमा परिणत हुन पुगेपछि नेपालका लागि त्यो नै दुर्भाग्यपुर्ण नतिजा र हार बन्यो ।
समूह एफ बाट नेपालसँगै लाओस पनि बाहिरिएको छ । लाओसले मंगलबार नै भएको खेलमा मलेसियासँग ५–१ को हार बेहोरेको थियो । ४ खेलको समाप्ती पश्चात १२ अंक जोडेको मलेसिया शिर्ष स्थानमा छ । ९ अंकका साथ भियतनाम दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको लाओस तेस्रो स्थानमा छ । अंकविहीन नेपाल भने पुछारमा छ ।
नेपालले अब समूह चरणतर्फ अन्तिम दुई खेलहरुमा १८ नोभेम्बरका दिन मलेसियासँग खेल्नेछ भने सन् २०२६ को मार्च ३१ तारीखका दिन लाओससँग अन्तिम खेल खेल्ने कार्यक्रम रहेको छ ।