इक्राही । प्रथम न्यु रामधुनी च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक न्यु रामधुनी फुटबल क्लब, इक्राही, सुनसरीले जितेको छ ।
फाइनलमा न्यु रामधुनीले पञ्चायन फुटबल क्लब, सुनसरीलाई २–१ ले हराउँदै उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो । न्यु रामधुनीको जितमा अनिष माझी र बिजय उराउले गोल गरे । उता पञ्चायनका लागि पदम बिकले गोल गरेका थिए ।
विजेता बनेको न्यु रामधुनीले उपाधिसहित नगद ५१ हजार हात पार्दा उपविजेता पञ्चायनले ३१ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो । पञ्चायनका तिर्थ बस्नेत फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद ११०० र ट्रफी हात पारे ।
त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक न्यु रामधुनीका सन्दिप ओझा बन्दा उत्कृष्ट डिफेन्डर पञ्चायनका मणि मगर चुनिए । उत्कृष्ट मिडफिल्डर पनि पञ्चायनका सन्दिप बिक बन्दा उदियमान खेलाडी न्यु रामधुनीका साहिल चौधरी बने ।
त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार पञ्चायनका अनिल राजधामीले हात पारे । उत्कृष्ट बनेका सबैले जनही ११००–११०० र ट्रफी हात पारे । त्यसैगरी प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने न्यु रामधुनीका उमेश कार्की घोषित भए । उनले त्यसवापत नगद २१०० र ट्रफी हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रामधुनी नगरपालिका वार्ड नम्बर ४ इक्राहीका अध्यष कमल कार्की लगायतले पुरस्कृत गरेका थिए ।