राजाबास । शनिबारदेखि शुरु भएको प्रथम राजाबास भेट्रान कप फुटबल प्रतियोगितामा दुहबी भेट्रान, दुहबीले साँघुरो जितका साथ विजयी शुरुवात गरेको छ ।
राजाबास स्थित सरस्वती माविको खेलमैदानमा भएको उद्घाटन खेलमा दुहबी भेट्रानले न्यु बराहक्षेत्र भेट्रान एफसी, चतरालाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।
दुहबी भेट्रानका लागि भुपेन्द्र गच्छदारले एक मात्र निर्णायक गोल गरे । खेलका निर्णायक गोलकर्ता गच्छदार म्यान अफ दि म्याच समेत घोषित भए । उनले त्यसवापत नगद ११०० र ट्रफी हात पारे ।
यो जितसँगै दुहबी भेट्रान सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत कार्तिक ९ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल भानु भेट्रान, धरान र बिराटचोक भेट्रान, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगर खेलकुद विकास समितिका अध्यक्ष संयोजक कपिल आचार्यले गरेका थिए ।
राजाबास भेट्रान फुटबल क्लब, बराहक्षेत्र–९ राजाबास, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १५ गतेका दिन हुनेछ ।