News भैरवलाई मेयर कपको उपाधि
गोलनेपाल

भैरव एफसी, नवलपरासीले रुपन्देहीमा सम्पन्न प्रथम सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

सैनामैना–७, देवापारस्थित सरस्वती माविको खेलमैदानमा शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा भैरवले झरना स्पोर्टस् क्लबलाई टाईब्रेकरमा ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । यसअघि नियमित समयतर्फको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । नियमित समयतर्फ भैरवका लागि अनुप गुरुङले गोल गरेका थिए भने झरनाका लागि विवेक पाण्डेले गोल गरेका थिए ।

प्रतियोगिताको विजेता बनेको भैरवले उपाधिसहित नगद १ लाख ५१ हजार प्राप्त गरेको छ भने उपविजेता बनेको झरनाले ले ८१ हजारमा चित्त बुझाएको छ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोली डिवाइसी कोटिमाई र एभरेष्ट एफसी, चितवनले नगद २०–२० हात पारेका छन् ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी भैरवका अजय पौडेल घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक झरनाका मनिष गुरुङ घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि झरना कै राकेश पुन घोषित भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर पनि झरना कै सबी गुरुङ घोषित भए ।

उत्कृष्ट फरवार्ड भैरवका कान्छा गुरुङ घोषित हुँदा उत्कृष्ट प्रशिक्षक पनि भैरव कै अन्जन अधिकारी घोषित भए । उच्च गोलकर्ताको पुरस्कार भैरव कै अनुप गुरुङले जिते । व्यक्तिगत विधातर्फ उत्कृष्ट सबैले नगद ५–५ हजार हात पारे ।

त्यसैगरी प्रतियोगिताको उदयीमान खेलाडी झरनाका निशान न्यौपाने घोषित भए । उनले पुरस्कार स्वरुप नगद २ हजार प्राप्त गरे । सैनामैना नगरपालिकाको संरक्षकत्व र जनप्रिय स्र्पोटिङ युवा क्लब, सैनामैना–७, देवापार, रुपन्देहीको आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments