News खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि
सुरज राना मगर

मुर्गिया । रुपन्देहीको सैनामैनामा सम्पन्न द बुद्ध फुटसल कप एक दिने खुला फुटसल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवलले जितेको छ ।

सैनामैना–३ मुर्गिया स्थित कृपा फुटसल एण्ड फिटनेसमा सम्पन्न फाइनलमा सह–आयोजक समेत रहेको शान्तिदिप युवा क्लब, मुर्गियालाई ५–३ ले हराउँदै खस्यौली च्याम्पियन बनेको हो ।

विजेता बनेको खस्यौलीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता शन्तिदिपले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

विधागततर्फ खस्यौलीका अस्मित शर्मा फाइनल खेलको म्यान अफ दि म्याच बने । उत्कृष्ट गोलरक्षक पनि खस्यौली कै अनुप राना बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार खस्यौली कै कप्तान भुवन मगरले हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आयोजक शान्तिदिपका सुजित चौधरी घोषित भए । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष श्री दर्लामी मगर, प्रतियोगिताका विशेष सहयोगी सुवास क्षेत्री, खेल संयोजक रेशम पुन लगायतले पुरस्कृत गरेका थिए ।

मुर्गिया फुटबल क्लब, सैनामैनाको प्राविधिक सहयोग समेत रहेको प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक रेशम पुनले बताए ।

सो अवसरमा बोल्दै क्लबका अध्यक्ष श्री दर्लामी मगरले सहभागी टोलीहरुका साथै शुभेच्छुक, सहयोगी लगायत सबैलाई धन्यवादसहित आभार प्रकट गरे । क्लबको वार्षिक गतिविधीलाई थप फराकिलो बनाउने उद्देश्यका साथ यसपटकदेखि खुला फुटसल प्रतियोगिता आयोजना गरिएको उनले बताए । साथै प्रतियोगितालाई आउने दिनमा पनि भव्यताका साथ आयोजना गर्ने र निरन्तरता दिने योजना रहेको समेत अध्यक्ष दर्लामीले बताए ।

 

Post Comments