हेटौडा । मकवानपुरको हेटौंडा स्थित गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिगमा कास्कीको लालिगुराँस एशोसिएसन क्लबले मंगलबारको महत्वपूर्ण खेल जित्दै राष्ट्रिय लिगमा छनोट हुने पहिलो टोली बन्न सफल भएको छ ।
दिनको दोस्रो खेलमा लालिगुराँसले काठमाडौंको चित्लाङ युथ क्लबलाई एकतर्फी ३–० को फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश पक्का गरेको हो ।
लालिगुराँसको जितमा लक्षु थापा, आशिष गुरुङ र सुलेमान थापा मगरले गोल गरेका थिए । लालिगुराँसका लक्षु थापा खेलको म्यान अफ द म्याच घोषित भए ।
यसअघि भएको पहिलो खेलमा कैलालीको बिजय स्पोट्र्स क्लब र बर्दियाको जन जागृति युवा क्लबबीचको प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगिएको थियो । पहिलो हाफमा एरोन थापाको गोलमार्फत अग्रता लिएको बिजय स्पोट्र्स क्लब दोस्रो हाफमा त्यो अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।
जन जागृति क्लबका हरिहर बुढा मगरले बराबरी गोल फर्काएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने हरिहरलाई म्यान अफ द म्याच घोषित गरिएको छ । चार खेलबाट पाँच अंक बटुलेको बिजय स्पोट्र्स क्लब समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ ।
मंसिर २ सम्म सञ्चालन हुने यो लिगमा १० टोलीको सहभागिता छ । दुई समूहमा विभाजन गरिएका टोलीमध्ये प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलमा पुगेका टोलीहरू आगामी पुस महिनामा हुने राष्ट्रिय लिगमा सहभागी हुने छन् ।
लिग कम नकआउट प्रारूपमा सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।