News वार्ड नम्बर ७ को जितमा दिलिपको निर्णायक गोल
गोलनेपाल

दुहबी । सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितातर्फ वार्ड नम्बर ७ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ७ ले वार्ड नम्बर ८ लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा वार्ड नम्बर ७ का लागि ६५औं मिनटमा दिलिप चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । चौधरी नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत माघ २० गते मंगलबारको खेल वार्ड नम्बर ४ र वार्ड नम्बर ५ बीच हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिका, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।

इलेभन एरोज क्लब, दुहबी सुनसरीको संयोजन रहेको प्रतियोगितामा दुहबी नगरपालिका भित्रका कुल १२ वार्डहरुको टिमहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २८ गते बुधबारका दिन हुनेछ ।

Post Comments