News मोरङको लेटाङ फुटबल क्लब आत्मानन्द गोल्डकपको फाइनल प्रवेश
गोलनेपाल

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंसिर १४ गते सम्पन्न दोस्रो सेमिफाइनलमा लेटाङ फुटबल क्लबले झापाको दमक भाङबारी स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

लेटाङका लागि निरज परियारले दुई गोल गर्दै निर्णायक भूमिका खेले। झापाका लागि अफ्रिकन खेलाडी रिचार्ड विल्सनले एक मात्र गोल फर्काएका थिए। आजको उत्कृष्ट प्रदर्शनका आधारमा लेटाङका निरज परियार ‘म्यान अफ द म्याच’ घोषित भए।

अब मंसिर १७ गते हुने उपाधि भिडन्तमा मोरङकै दुई टिम—सिरिजंगा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्लब—बीच प्रतिस्पर्धा हुनेछ। मंसिर १३ गते सम्पन्न पहिलो सेमिफाइनलमा सिरिजंगाले जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवको अवसरमा आयोजना गरिएको १८औं आत्मानन्द गोल्डकपमा ८ टिम सहभागी थिए। विजेताले रु. ३,११,१७२, उपविजेताले रु. २,११,१७२ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

Post Comments