News बिमलको दुई गोलसँगै आयोजक फाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । शानदार जितका साथ आयोजक विजय युथ क्लब जारी भिडोल हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा बागमती युवा क्लब, सर्लाहीको चुनौति ५–१ ले पन्छाउँदै आयोजक उपाधि नजिक पुगेको हो । हेटौडा स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा सम्पन्न खेलको पाँचौं मिनटमा बिमल रानाको गोलबाट आयोजकले खेलमा अग्रता लिएको थियो । ३७औं मिनटमा सन्त गुरुङले त्यो अग्रता दोब्बर पारे ।

लगतै ४३औं मिनटमा बिमलले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्न सफल भए । खेलमा एकपक्षीय जित निकालेको आयोजकका लागि ५८औं मिनटमा हिसब थपलियाले चौथो गोल गरे । उता बागमतीका लागि ६७औं मिनटमा फोफनाले एक गोल फर्काए तापनि टोलीलाई फराकिलो हारबाट जोगाउन सकेन ।

खेलको ८८औं मिनटमा रुपेश केसीले आयोजकका लागि पाँचौं गोल थप्दै बिजय युथको शानदार जित पक्का गरेका थिए । खेलमा आयोजकका लागि दुई गोल गरेका बिमल राना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

आयोजक र भरतपुरबीच फाइनल भिडन्त

बुधबारको नतिजासँगै उपाधिका लागि आयोजक बिजय युथ क्लबले सेन्ट्रल कलेज भरतपुर एफसीसँग फाइनलमा भिड्ने तय भएको छ । भरतपुरले मंगलबार मात्र हर्दी युवा समाजलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो । फाइनल खेल यहि माघ २३ गते शुक्रबारका दिन हुनेछ ।

बिजय युथ क्लब, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्ने आयोजकले जनाएको छ ।

Post Comments