News अमुवा माथि नव एकताको जित
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी चौथो सञ्जिवनी कपतर्फ रोमाञ्चक जित निकाल्दै नव एकता युवा क्लब क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । बुधबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ नव एकताले अमुवा एफसी विरुद्ध २–१ को जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा भएको खेलको पाँचौं मिनटमै कप्तान निरज पुनको गोलबाट नव एकताले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको १३औं मिनटमा अनिल न्यौपानेले त्यो अग्रता दोब्बर पारे । यद्यपि त्यसको एक मिनट लगतै अमुवाका लागि मिन बहादुर थारुले एक गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

खेलको म्यान अफ द म्याच नव एकता कै अनिल न्यौपाने घोषित भए । प्रतियोगिता अन्तरगत माघ २२ गते बिहीबारको खेल डिएमसी, तुल्सीपुर र विपी स्मृति युवा क्लब, नवलपरासीबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने प्रतियोगिताको आर्थिक संयोजक इन्द्र कुमार थापाले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन १ गतेका दिन हुनेछ ।

Post Comments