News उत्कृष्ट पूनःरागमन गर्दै वार्ड ६ सेमिफाइनलमा
गोलनेपाल

दुहबी । उत्कृष्ट पूनःरागमनका साथ रोमाञ्चक जित निकाल्दै वार्ड नम्बर ६ सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो क्वाटरफाइनलतर्फ वार्ड नम्बर ६ ले वार्ड नम्बर ११ लाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको खेलको ३९औं मिनटमा अरबिन्द उराउको गोलबाट वार्ड नम्बर ११ ले खेलमा अग्रता लिएको थियो । तर ४१औं मिनटमा जितेन्द्र चौधरीले वार्ड नम्बर ६ का लागि बराबरी गोल फर्काएका थिए । तर वार्ड नम्बर ६ ले त्यो बराबरी गोलको खुशी पनि धेरैबेर मनाउन सकेन ।

उता पहिलो हाफ कै इन्जुरी समयमा इन्द्र कुमार उराउले वार्ड नम्बर ११ लाई दोस्रोपटक खेलमा अग्रता दिलाए । यद्यपि खेलमा उत्कृष्ट पूनरागमन गरेको वार्ड नम्बर ६ का लागि ७१औं मिनटमा अमित चौधरीले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

पेनाल्टी शुटआउटमा वार्ड नम्बर ६ का लागि जितेन्द्र चौधरी, अजय गोश्वामी, मनिष बिक र आशिष बिकले गोल गरे भने अलाउद्दिनले गोल गर्नबाट चुकेका थिए । त्यस्तै उता वार्ड नम्बर ११ का लागि सुजन कुमार रिसिदेव र बिजय उराउले मात्र गोल गर्न सके । सुजन सरदार र सौरलाल रिसिदेवले गोल गर्न असफल भएका थिए ।

खेलको म्यान अफ द म्याच वार्ड नम्बर ६ का अमित चौधरी घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे । प्रतियोगिता अन्तरगत माघ २२ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ३ र वार्ड नम्बर १० बीच हुने आयोजकले जनाएको छ ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ २८ गतेका दिन हुनेछ ।

Post Comments