News रोकियो एपिएफ, ईस्ट बंगालको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपतर्फ नेपालको एपिएफ फुटबल क्लबले आफ्नो दोस्रो खेलमा बराबरी खेलेको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा एपिएफले भुटानको ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

स्मरण रहोस, एपिएफले आफ्नो पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ४–० ले हराएको थियो । एपिएफले आफ्नो तेस्रो खेल १४ डिसेम्बरका दिन कराँची सिटीसँग खेल्नेछ । उता ट्रान्सपोर्टले भने पहिलो खेलमा पाकिस्तानको कराँची सिटीसँग गोलरहित बराबरी खेलेको थियो भने भारतको ईस्ट बंगालसँग ४–० ले पराजित भएको थियो ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा ईस्ट बंगालले कराँची सिटी फुटबल क्लबलाई २–० ले पराजित गर्यो । यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको ईस्ट बंगाल समूहको शिर्ष स्थानमा छ । समान खेलबाट ४ अंक जोडेको एपिएफ दोस्रो स्थानमा रहँदा तीन–तीन खेलबाट २–२ अंक जोडेका कराँची सिटी र ट्रान्सपोर्ट युनाइटेड क्रमश तेस्रो र चौथो स्थानमा छन् । त्यस्तै दुई खेलबाट १ अंक मात्र जोडेको नसरिन स्पोर्टस पुछारमा छ ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल भने आउँदो २० डिसेम्बरका दिन दशरथ रंगशाला मै हुनेछ ।

 

Post Comments