तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा शुक्रबारबाट दाङ जिल्लाकै सर्वाधिक धनराशिको तथा देशकै प्रतिष्ठित दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता सुरु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन वडा नं. ६ ले वडा नं. ४ लाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
खेलको २८ औं मिनेटमा पेनाल्टी बक्स भित्र फाउल भएपश्चात प्राप्त गरेको पेनाल्टीलाई भुवन नेपालीले गोल गर्दै डिफेन्डिङ च्याम्पियन टोलीका लागि अग्रता दिलाउन सफल भएका थिए। तर दोस्रो हाफको अतिरिक्त समय ७२ औ मिनेटमा नवीन रावलले उत्कृष्ट गोल गर्दै वडा नम्बर ४ लाई खेलमा फर्काउन सफल भए।
त्यसपश्चात् कुनै टोलीबाट थप गोल हुन नसक्दा उक्त खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा वडा नम्बर ६ आयोजक टोलीका गोलरक्षक प्रतीक सुनार नायक बन्दै आफ्नो टिमलाई क्वाटरफाइनलमा स्थान सुरक्षित गराएका हुन्। उनले वडा नम्बर ४ को दोस्रो प्रहार विवेक पुन मगर र चौथो नवीन रावलको प्रहारलाई रोक्दै आफ्नो टिमलाई समग्रमा ४/२ को नतिजामा दोस्रो चरणमा प्रवेश गराएका हुन् ।
यता आयोजक टिमको तर्फबाट भने सम्पूर्ण खेलाडीहरूले गोल गर्न सफल भएका थिए। शनिबार ३ प्रि क्वाटरफाइनल खेल हुने हुँदा वडा नम्बर १९ र वडा नम्बर ५ बिहान ठिक ७ बजे प्रतिस्पर्धा गर्नेछन् भने वडा नम्बर १५ र वडा नम्बर १२ दिनको ठिक १२ बजे त्यसैगरी वडा नम्बर ११ र वडा नम्बर ९ दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।
तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटा वडाहरूमध्ये १६ वटा वडाहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६६,६६६ रुपैया सहित चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु १,६६,६६६ सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुष ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल पुष १२ गते हुनेछ।
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा