काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आर्थिक जरिवाना गरेको छ । एएफसी एसियन कप छनौटतर्फ नेपाली खेलाडीहरुले मैदान प्रवेशमा ढिलाई गरेपछि एएफसीले एन्फालाई कारवाही स्वरुप २ हजार अमेरिकी डलर आर्थिक जरिवाना गरेको हो ।
एएफसी एसियन कप छनौटतर्फ गत नोभेम्बर १८ तारीखका दिन मलेसिया विरुद्धको खेलका क्रममा नेपाली पहिलो हाफ र दोस्रो हाफमा मैदान प्रवेश गर्न ढिलाई गरेपछि एएफसीको यही डिसेम्बर १५ तारीखका दिन बसेको अनुशासन कमिटीको बैठकले एन्फालाई आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो ।
स्मरण रहोस, क्वाललम्पुर स्थित बुकिट जलिल नेशनल स्टेडियममा भएको सो खेलमा नेपालले मलेसियासँग १–० को हार बेहोरेको थियो । त्यस्तै सोही खेलमा मैदान प्रवेशमा मलेसियन टोलीले पनि ढिलाई गरेको भन्दै मलेसिया एफएलाई २५ सय अमेरिकी डलर जरिवाना गरेको छ ।
त्यसैगरी सोही खेलका निर्णायक गोलकर्ता र म्यान अफ दि म्याच समेत चुनिएका मुहम्मद फैजल बिन अब्दुल हालिमलाई म्यान अफ दि म्याच पछिको प्रेस कन्फिरेन्समा उपस्थित नभएको भन्दै १० हजार डलर जरिवाना गरेको छ । साथै म्यान अफ दि म्याच बनेका मुहम्मद फैजल कै कारण मलेसिया एफएले पनि थप दश हजार डलर जरिवाना तिर्नुपर्ने गरी एएफसी कारवाही गरेको छ ।
त्यसबाहेक एएफसीले एन्फा, मलेसिया एफए र आर्थिक जरिवानामा परेका मलेसियन खेलाडी मुहम्मद फैजलले आउँदो जनवरी १५ तारीखसम्म उक्त जरिवाना तिर्नुपर्ने उल्लेख गरेको छ ।